९ भदौ काठमाडौँ । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सचिव रूपसिं मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् ।काजखस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षकसमेत रहेका रूपसिं पाँचौं डान परीक्षामा शनिबार उत्तीर्ण भएका हुन् । नेपाली टोलीका प्रशिक्षक रूपसिंले च्याम्पियनसिपकै क्रममा कजाखस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए ।
परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उनी परीक्षामा उत्तीर्ण भए । विश्व आइटिएफ तेक्वान्दो महासंघकका कार्यकारी सदस्य एवम् रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलानको टिमले उनको परीक्षा लिएका थिए ।रूपसिं रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुन् । उनकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्णकदको प्रतिमा÷सालिक बनाइएको छ ।
आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो पनि हो । कजाखस्तानको अस्ताना भएको विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त शालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्रान्ड मास्टरहरूलाई उनले निम्तो दिएका छन् ।ग्रान्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंले बताए । जारी च्याम्पियनसिपमा रूपसिंहकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अन्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।