१४ भदौ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट, चापापानी निवासी नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (सई) अर्जुन थापा पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। रसुवा–टिमुरे हुँदै चीन जाने क्रममा सम्पर्कविहीन भएका थापाको अवस्था अझै अज्ञात छ।
वि.सं. २०३२ सालमा जन्मिएका थापाले करिब ३० वर्ष नेपाल प्रहरीमा सेवा गरेका थिए। प्रहरी सेवाबाट अवकाश लिएपछि रोजगारीका लागि चीन जाने तयारीमा रहेका उनी भदौ ९ गते काठमाडौंबाट रसुवातर्फ गएका थिए।
परिवारका अनुसार उनी भदौ ९ गते साँझ धुन्चेमा बसेका थिए। भोलिपल्ट बिहान टिमुरे पुगेपछि इमिग्रेसन क्षेत्रमा पुगेका थापाले बिहान करिब ८ बजे श्रीमती मिना थापालाई फोन गरेर ‘हामी अब चीन जाँदैछौँ’ भनेका थिए।त्यसपछि भने उनको मोबाइल सम्पर्कविहीन भएको परिवारले बताए।
सोही दिन रसुवा क्षेत्रमा आएको भीषण बाढी–पहिरोको खबर सार्वजनिक भएपछि परिवार झनै चिन्तित बनेका थिए। पाँच दिन बितिसक्दा पनि थापाको जीवित वा मृत अवस्थाबारे कुनै जानकारी नपाएपछि परिवार निराश र विक्षिप्त बनेका छन्। दुई छोरीहरु भन्छन् दिनभर मोबाइल हेर्छौँ, बाबाको खबर आउँछ कि भनेर’ तर नआज आउछ नभोली आउछ भने ।
अर्जुनकी श्रीमती मिना तथा छोरीहरू अन्जु थापा र आशिका थापा अहिले बुबाको खबरको प्रतीक्षामा छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार भइरहेका समाचार तथा विभिन्न स्थानमा शव भेटिएको खबर सार्वजनिक भइरहँदा परिवारका सदस्यहरू हरेकपटक मोबाइल र समाचारतर्फ आशाका साथ हेर्ने गरेका छन्।
‘उनीहरु भन्छन् कतै हाम्रो बाबाको नाम पो आउँछ कि भनेर हेर्छौ एक मन लाग्छ कतै जीवितै उद्धार हुनुभएको खबर पो आउँछ कि’ भन्ने आशामै उनीहरू दिनरात बिताइरहेका छन्।
उता गोरखामा रहेका अर्जुनका वृद्ध आमाबुवाको अवस्था पनि चिन्ताजनक बनेको परिवारले जनाएको छ। छोरा बेपत्ता भएको खबरपछि उनकी आमाको स्वास्थ्य अवस्था कमजोर बनेको र सलाइन पानी लगाएर राखिएको परिवारको भनाइ छ।
‘३० वर्ष देशको सुरक्षा गरेका बाबालाई सरकारले खोजोस्’
छोरीहरूले आफ्ना बुबाले ३० वर्षसम्म नेपाल प्रहरीमा रहेर देश र जनताको सुरक्षा गरेको स्मरण गर्दै अहिले उहाँ आफैं विपद्मा परेको अवस्थामा राज्यले विशेष प्राथमिकताका साथ खोजी गर्नुपर्ने माग गरेका छन्।
‘हामीलाई न सासको खबर छ, न लासको। पाँच दिनदेखि उहाँको पर्खाइमा बसेका छौँ। कतै घाइते अवस्थामा उद्धारको प्रतीक्षामा हुनुहुन्छ कि, कतै सुरक्षित ठाउँमा सम्पर्कविहीन भएर बस्नुभएको छ कि भन्ने आशा अझै छ,’ छोरीहरूले भनेका छन्।
उनीहरूले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा रसुवा क्षेत्रमा उद्धारमा खटिएका सबै टोलीलाई अर्जुन थापाको खोजीलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
‘फोटो देख्नुभयो भने खबर गरिदिनुहोस्’
परिवारले अर्जुन थापाको फोटो तथा विवरण सार्वजनिक गर्दै रसुवा, टिमुरे, धुन्चे वा अन्य कुनै स्थानमा उहाँलाई देख्ने वा उहाँबारे जानकारी पाउने जोकोहीलाई तत्काल परिवार वा सम्बन्धित निकायमा खबर गरिदिन आग्रह गरेको छ।परिवारको आशा अझै मरेको छैन।‘हाम्रो बाबा सकुशल फर्किनुहोस्’—यही आशामा श्रीमती र दुई छोरी पाँच दिनदेखि बाटो हेरिरहेका छन्।
अर्जुन थापाको विवरण
नाम : अर्जुन थापा
जन्म : वि.सं. २०३२
ठेगाना : बारपाक सुलिकोट–६, ताकुकोट, चापापानी, गोरखा
पेशा : नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (सई)
अन्तिम सम्पर्क : भदौ १० गते बिहान करिब ८ बजे, टिमुरे इमिग्रेसन क्षेत्र
अवस्था : पाँच दिनदेखि सम्पर्कविहीन
अर्जुन थापालाई देख्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया परिवार तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिनुहुन परिवारले हार्दिक अनुरोध गरेका छन्।