१८ असोज गोरखा । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको आकस्मिक बाढीमा परी बेपत्ता भएका बारपाक सुलिकोटका पाँच परिवारलाई रोटरी क्लब अफ गोरखाले आर्थिक सहयोग गरेको छ।
समाजसेवी नरबहादुर गुरुङको पहल तथा समन्वयमा रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामहरि केसीको नेतृत्वमा आज असोज १७ गते बेपत्ता व्यक्तिका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
रोटरी क्लब अफ गोरखाले बाढीमा बेपत्ता भएका अर्जुन थापाको परिवार, शङ्कर गुरुङको परिवार, आसबहादुर गुरुङको परिवार, जीवन गुरुङको परिवार र विक्रम गुरुङको परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको जनाएको छ।
भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण आफन्त गुमाएका तथा अझै बेपत्ताको पीडामा रहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो।दुःखको यस घडीमा परिवारप्रति सहानुभूति प्रकट गर्दै सहयोग उपलब्ध गराएको भन्दै पीडित परिवारले रोटरी क्लब अफ गोरगा तथा सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन्।
सहयोगका लागि पहल तथा समन्वय गरी विशेष सहजीकरण गरेकोमा समाजसेवी नरबहादुर गुरुङ र रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामहरि केसीप्रति पनि परिवारका तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
बाढी तथा विपद्बाट प्रभावित परिवारलाई स्थानीयस्तरमा विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। यस्ता सहयोगले विपद्का कारण कठिन अवस्थामा रहेका परिवारलाई तत्कालीन राहतमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।