१२ भदौ काठमाडौँ ।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७:४५ बजे मृत्यु भएको हो ।
प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो ।इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे ।
नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए । घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट–३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनु परेको बताए ।आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिजो साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताए ।