१४ भदाै काठमाडाैँ । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ । क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ ।
त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ ।