१२ असाेज काठमाडाैँ । कैलालीकाे घोडाघोडी नगरपालिका वडा न २ साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।
प्रवक्ता दाहालले सो निवेदनमाथि अनुसन्धान हुँदा शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको बताउनुभयो ।
शाहले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।