१२ असाेज काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ ।रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रमाना दिन निर्देशन दिएको हो ।

मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, कामकाज, काज र काज फिर्ताका निर्णय बमोजिम नै रमाना दिन भनेको हो ।मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउनु पर्ने गरी संघीय मामिलामन्त्री अनिता देवीले मन्त्रीस्तरीय निर्णय गरेकी छिन् ।सरकारले सरुवा गर्दा तोकिएका कार्यालयमा समयमै नजाने प्रवृत्ति मौलाएपछि ७ दिनको समय दिएर परिपत्र गरेको हो ।