२१ मंसिर काठमाडाैँ ।काठमाडाैँ प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको जानकारी दिए ।ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको बताए ।
चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने । परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।