Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सयौंँ मानिसको भीडमा एक वर्षमा तीन ठाउँ सर्ने सल्यानकोटकी भगवती माई आज माइत झरिन्

सयौंँ मानिसको भीडमा एक वर्षमा तीन ठाउँ सर्ने सल्यानकोटकी भगवती माई आज माइत झरिन्

जोईन खबर

२८, मंसिर २०८०
  • 769
    SHARES
  • सयौंँ मानिसको भीडमा एक वर्षमा तीन ठाउँ सर्ने  सल्यानकोटकी भगवती माई आज माइत झरिन्

    २८ मंसिर काठमाडाैँ । सयौंँ मानिसको भीडमा अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । 

    images

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । 

    images
    images
    images

    भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने  अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए । 

    सापकोटाले भने, “पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उहाँले बताउनुभयो । 

    रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्यँुमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उनको भनाइ थियो । 

    यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । 

    विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैं तिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । 

    स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । “सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रुपमा लिइन्छ”, उनले भने ।

    “पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । प्रत्येक वर्ष मेला हेर्न आउँछौँ । तर छुन÷हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो । हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आउनुभएकी देवकी अधिकारीले भने ।

    नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । जिल्ला सदरमुकाम धादिङबँेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । एजेन्सी

     

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १४:३६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको