२९ मंसिर काठमाडाैँ । नेपाल टेलिकमद्वारा नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। उक्त सेवा कक्षा ८ देखि माथिका विद्यार्थीलाईसमेत नयाँ सिम उपलब्ध गराइने र रिचार्ज गर्दा पाइने बोनस सुविधासमेत थप गरिएको नेपाल टेलिकमले जनाएको छ।
रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत् ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत् १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ।
यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ।कक्षा ८, ९ र १० का विद्यार्थीलाईसमेत उसको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ।
नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ। सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ।
डाटा बोनस
विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत् प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ। अब रु. १०० को रिचार्ज गर्दासमेत डाटा बोनस उपलब्ध हुनेछ।
यस अनुसार एमपोसमार्फत् रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ।