३ पुष काठमाडौँ । गोरखा जिललाको उत्तरी गोरखा धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलाई सिसी क्यामेरा जडान गरिएको छ ।
गाउँपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।माछिखोलामा बजार क्षेत्रमा सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको उनले बताए । माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसीक्यामेरा जडान गरिएको छ ।
अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी दुई र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप चार वटा क्यामेरा जडान गरिएको छ ।
जडान गरिएका सिसी क्यामेरा रातको समयमा समेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।क्यामेरा जडानका लागि करिब पाँच लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।