६ पुष काठमाडाैँ ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ ।प्रतियोगितामा सात वटै प्रदेशबाट गरी १०० बढी यू १९ महिला खेलाडीको सहभागीता रहने महासचिव सुवोध प्रधानले बताए । प्रतियोगिता माघको १५ गतेदेखि २७ गते सम्म आयोजना हुने छ ।
सन् २०२४ मा नेपालमा हुन गईरहेको विश्वकपको एसिया कप छनोटलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने लोकतान्त्रिक खेलकुद संघले विश्वास लिएको छ ।
मैया देवी को हुन् ?
समाजसेवी एवं पूर्व सांसद मैयादेवीको जन्म वि.स.१९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दीपुरमा भएको थियो । उनी १ महिनाको हुँदा बाबु आमासँगै चितवन आएकी थिइन् ।वीरगञ्जमा डिठ्ठा रहेका उनका वुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी मैयादेवीले आमा र बावुकै प्रेरणाले केही सम्पत्ति सामाजिक कार्यमा लगाइन् ।
नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएर दार्जलिङ्गदेखि शिक्षक बोलाएर उनले पठन पाठन शुरु गराएकी थिइन् । २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहेको मैयादेवीले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी थिइन् ।
त्यहाँ अहिले नेपाली कांग्रेसकै भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय रहेको छ ।यसैगरी भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी थिइन् । गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान गरेकी थिइन् । नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गरेकी उनले लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि जग्गा दिएकी थिइन् ।
पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश संन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उनले जग्गा दान गरेकी थिइन् ।श्रेष्ठ २००३ सालदेखि कांग्रेसमा लागेकी उनले धेरैलाई जग्गा दान गरेकी थिइन् भने २०७२ सालमा मैयादेवी ट्रष्ट खोलेकी थिइन् । उनको २०७९ कार्तिक ५ गते भरतपुरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।