२१ पुष काठमाडौँ । आज शनिबार गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली सेनाले नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमाआजदेखि सुरु भएको हो ।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।
उनीहरुलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ ।पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उनीहरुलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।
३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।गोरखाको टोली पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटवेशी पुग्ने छन् ।
गोरखाले धादिङलाई बुझाउँछ, धादिङले नुवकोटमा तैनाथ जबरजंग गणलाई र नुवकोटले काठमाडौं नागार्जुनस्थित कालीध्वज गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छन्,’ उनले भने ।कालीध्वज गणले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि पुस २६ गते साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झण्डा हस्तान्तरण गर्ने बताइएको छ ।