२६ पुष काठमाडौँ । काठमाडौँको आफनै घरबाट हत्या, बलात्कार र बेपत्ता आरोपमा पक्राउ परेका बम्जनलाई बुधबार मध्यरातमा सर्लाही पुर्याईएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई वटा छुट्टाछुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएका बम्जनलाई अदालत खुलेपछि जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी छ ।बम्जनमाथि २०७५ पुस १८ मा सर्लाहीको साविक कर्मैया गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की २८ वर्षीया रीता बोटेलाई बाराको हलखोरिया बनबाट गायब पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको छ।
२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
सिआईबीको पक्राउ परेका बम्जनको घरबाट प्रहरीले मोटरसाइकलको क्लुबुक ३ थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका मेमोरीकार्ड २ थान, ल्यापटप २ थान, विभिन्न ब्राण्डका मोबाईल १४ थान र ५ थान आई–प्याड र ट्याबहरु र नगद रूपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र १७ देशका मुद्रा बरामद गरेको सिआईबीले जनाएको छ ।