८ माघ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न सुरुवात गरिएको छ। गाउँपालिका भित्र रहेका बसोबासीहरूलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
गाउँपालिकामा वडा नम्बर ७ लापुबाट अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ । पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्रमशः निस्सा वितरण गर्दै जाने र प्रारम्भिक चरणमा लापुका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिने पालिका अध्यक्ष गुरुङले बताए।
अध्यक्ष गुरुङले भने अब जग्गा नापजाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ।निवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोबासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाइ छ।
आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकनलगायतका बिभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ।
लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका बताए।