१८ माघ काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा १० जनालाई नेपाल प्रहरीले पक्राउ परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा धनुषा घर भएका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भएकी ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भएकी रोना गुरुङ, ललितपुर घर भएका २५ वर्षीय सञ्जय महर्जन, चितवन घर भएका २५ वर्षीय सुमन ढकाल, सिराहा घर भएका २९ वर्षीय सक्षम अर्याल, सर्लाही घर भएका ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भएका २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही घर भएका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् । अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०२४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।