२१ माघ काठमाडाैँ । बागलुङ काठेखोला गाउँपालिकामा ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापाकै नेतृत्वमा स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।
लोकमार्गको समस्याग्रस्त २५ किलोमिटर सडक निर्माणमा जिम्मेवार निकायहरू मुकदर्शक बनेको उनीहरुको गुनासो छ । आन्दोलनको संयोजन स्थानीय सरकार काठेखोला गाउँपालिकाले नै गरेको छ ।

दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि कालोपत्रे गरेको छैनन् । सडकको दुइ खण्ड मध्ये एक खण्डको ठेक्का तोडिएको छ भने अर्को खण्डमा थपिएको म्याद सकिइसकेको छ ।

आन्दोलनमा उत्रिनुको आफूहरुसँग विकल्प नभएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । यहाँको स्थानीयले पूर्णरूपले बन्द गरेका र १२ बजेपछी केही खुलेको छ भने सरकारी निकायबाट आन्दोलन को कुनै ठोस निस्कर्श ननिस्किएसम्म आन्दोलन निरन्तर रुपमा चलिरहने समेत बताए ।