२६ माघ काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ। शुक्रबार विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए। ‘हाल बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म र ई–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ,’ उनले भने।
ई–भिसा लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ ९इटिए० लागू गरिएको विभागले जानकारी दिएको छ। यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवेदन गर्न सक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन्। विभागले सबै प्रकारका सेवा शुल्क तथा जरिवानाहरू नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ। सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिनेछ। विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजीकरण गर्ने व्यवस्था मिलाएको छ।
विभागले नाता र विवाहका आधारमा गैरपर्यटक भिसा लिने सेवाग्राहीबाहेक अन्य सेवाग्राही विभाग आउन नपर्ने व्यवस्था गरेको हो। विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, इन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआबद्धता गरिएको छ।
विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तरआबद्धताका लागि तयारी गरिरहेको जनाएको छ। विदेशी नागरिकले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेकोसमेत जानकारी दिइएको छ।
भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ। आगामी फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने र आवेदकले नेपाली बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेपश्चात् अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इजाजत जारी हुने व्यवस्था गरिएको छ। एजेन्सी