१ फागुन काठमाडाैँ । गोरखामा जनयुद्ध दिवसको अवसरमा आज गरिएको रक्तदान कार्यक्रम सम्पन भएको छ । गोरखाको योङ कम्युनिष्ट लिग वाइसिएल र गोरखाको अखिल क्रान्तिकारीको आयोजनामा गोरखा बजारको हरमटारीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको गोरखाका वाइसिएल संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।
आज फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रक्तदान कार्यक्रममा जम्मा ६१ जनामा ११ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेका गोरखाका वाइसिएल संयोजक श्रेष्ठले बताउनु भयो ।उक्त कार्यक्रमबाट संकलित गरेको रगत मध्ये केही पाउण्ड गोरखा स्थित रक्त सञ्चार केन्द्रमा राखियो भने बाँकी चितवन पठाइएको उहाँको भनाई छ ।
नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारी गोरखाका सचिव सुलभ अम्गाईले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको उहाँले बताउनुभयो । आज साँझ हरमटारी चोकमा जम्मा भएर वाइसीएल र अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुले दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको अखिल क्रान्तिकारीका गोरखाका सचिव अम्गाईले बताउनु भयो ।