९ फागुन काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।
नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए ।
राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग-बिफोर-विकेट आउट भएका थिए ।