२२ चैत काठमाडौ ।गोरखा जिल्ला फुटबल संघले मंगलबारदेखी ‘कम्युनिटी कोचिङ’ सुरु गरेको छ । जिल्लामा फुटबलको बिकास गर्ने उद्वेश्यका साथ ‘कम्युनिटी कोचिङ’ सुरु गरिएको हो ।
आजदेखी सुरु भएको तालिममा ११ क्लबका २० जनाको सहभागीता रहेको एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो । उक्त तालिम पछि जिल्लामा डि क्लासका प्रशिक्षकहरु उत्पादन हुने छन् । तीन जना मात्र प्रशिक्षक रहेको जिल्लामा प्रतियोगिताहरु आयोजना गर्दा बाहिरी जिल्लाबाट ल्याउनु पर्ने बाध्यता रहदै आएको छ ।
आज बिहान एक समारोह बिच गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले पानसमा बत्ती बालेर उदघाट्न गर्नुभयो । मेयरले बिकासको लागि नगरपालिकाले पनि साथ दिने बताउनुभयो ।
मेयर राना मगरले उत्पादन भएका प्रशिक्षकहरुलाई सबै पालिकाले १–१ मात्र लिईदिदा पनि जिल्लाको फुटबल क्षेत्रमा राम्रै बिकास हुन सक्ने कुरा जानकारी गराउनुभयो ।
कार्यक्रममा एन्फा गण्डकी प्रदेशका महासचिव एवं एन्फा गोरखाका निर्वतमा अध्यक्ष दिपेन्द्र श्रेष्ठले एन्फाले जिल्ला स्तरको क्लबलाई बेवास्ता गर्दा पनि फुटबलको बिकास हुन नसकेको बताउनुभयो । श्रेष्ठले गोरखाको छेवेटारमा खेलकुद मैदान निर्माण सम्पन्न भइ सक्दा पनि एएफसीले दिनुपर्ने ५० हजार डलर नदिएर धोखा दिएको बताउनुभयो ।
तालिममा सहभागीहरुलाई एन्फाका शिक्षा विभाग प्रमुख संजिब सिंले प्रशिक्षण दिनेछन् । आयोजकका अनुसार प्रशिक्षण सकिएको दिनमा नै प्रशिक्षक संघको समेत गठन हुने बताएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, जिल्ला भलिवल संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।