२३ फागुन काठमाडौँ । धादिङको गजुरी गाउँपालिका वडा न — ५ घाटबेँसीमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु र ३० जना भन्दा बढी घाइते भएका छन् । हिजो बेलुका कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवहाक लु२ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि केही बिरामिलाई थप उपचारका लागि काठमाडौँ पठाइएको धादिङका प्रहरी उपरीक्षककेसीले बताए ।
उक्त बस दुर्घटना पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेको र उद्धार जारी रहेको प्रहरीले बताए । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।