बैतडीमा कोदालो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँकी ५६ वर्षीया पार्वती धामीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको हो।
हत्या संलग्नताको आरोपमा उनकै श्रीमान् ६२ वर्षीया किसन सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार धामीले श्रीमती पार्वतीमाथि कोदालोको बिँडले आक्रमण गरेका थिए। घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धामीले अन्य दुई जनामाथि पनि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन्।
उनीहरुको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ। प्रहार गर्ने धामीलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।