१३ असार काठमाडौँ । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।
नगरप्रमुख आतेशकुमार सिंहका अनुसार उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।
नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरिन् ।
कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने
कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ । कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ ।