२५ असार काठमाडौँ । यस बर्षको असार महिना सकिनै लाग्दा पनि चितवनका किसानहरुले रोपार खोज्दै हिड्नु पर्ने अवस्था सिर्जन भएको छ । भरतपुर महानगरपालिका १५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा हुनुहुन्छ । उहाँले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा हुनुहुन्छ । स्थानीय रोपार पाउनै कठिन भएको छ ।
यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ । युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उहाँले बताउनुभयो ।युवाहरूमा समेत काम गर्ने जाँगर नहुदाँ स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उहाँले बताउनुभयो ।
सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ ।अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गरेका छन् ।उहाँले अहिले स्थानीय रूपमा वृद्धवृद्धाबाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो ।कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।” स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारले धान रोप्ने गरेको जनाउँदै उहाँले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताउनुभयो । पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ ।
जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ ।