२२ साउन काठमाडौँ । चितवनको नारायणगढ नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो भएकोले सोमबार साँझ निकुञ्जमा छाडिएको हो।
एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो। स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो।उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुनसक्छ। बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ।
रातको समयमा बाघ सक्रिय हुने र जङ्गल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुन सक्ने अनुमान गरिएको छ। बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेको थियो। आइतबार बिहान घटना भएकामा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो।बाघ अन्दाजी पाँचरछ वर्षको भाले हो। उद्धार गरिएको बाघ बुढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राख्ने गरिन्छ। रासस