८ बैशाख काठमाडौं ।नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थी खुसी भएका छन्।
समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास गरिएको छ। विगतका वर्षमा पुस्तक अभावमा पढाइसमेत प्रभावित हुने गरेकामा यस वर्ष समयमै पुस्तक पाएपछि पठनपाठन पनि सहज भएको विद्यालयले जनाएका छन्। यस वर्ष सामुदायिक विद्यालयका १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक विद्यालयमा पुगिसकेका छन्।
प्रअ नेपालीले भन्नुभयो, “भर्नासँगै पुस्तक पाएपछि बालबालिका निकै खुसी भए। हातमा पुस्तक दिएपछि खुसी हुँदै घर फर्किए।” विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा निकै खुसी लागेको बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो। “विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको छ। विद्यार्थीलाई पुस्तक पनि वितरण गरिएको छ,” उहाँले बताउनुभयो।
यस वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराइएको शिक्षा विकास तथा समन्वय म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “कार्यालयलाई प्राप्त जानकारीअनुसार जिल्लाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका छन्।”
पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीले सामूहिक रूपमा लगानी गरेर जिल्लामा करिब १५ हजार सेट पाठ्यपुस्तक ल्याएका हुन्। दुर्गमका विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक वितरणको व्यवस्था मिलाइएको छ।