२२ पुस काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको आज कास्की जिल्ला अदालतमा वकिलले बहस गर्ने भएका छन्।
गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्।
यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ । उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।