२४ पुस काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिका वडा न ४ ताक्लुङ्गमा अनुदानमा गुलेली वितरण गरिएको छ । गत वर्षदेखि किसानलाई अनुदानमा बाँदर धपाउने गुलेली वितराण् गर्न थालिएको वडा कार्यालयले जनाएको हो । यस वडामा प्रत्यक बर्ष बाँदरले दुःख दिन थालेपछि गतबर्ष जस्तै यो बर्ष पनि गुलेली वितरण गरिएको वडा अध्यक्षले बताए । हालसम्म ६० वटाभन्दा बढी गुलेली बिक्री भइसकेको छ ।
वडा अध्यक्षका अनुसार हामीले उत्पादन गरेको गुलेली अरु पालिका जसमा इच्छाकामना, गण्डकी गाउँपालिकाबाट पनि किसानहरु आउने गरेको पाइन्छ । हामीले बनाएको गुलेली वडावासीका लागि ७० प्रतिशत अनुदानमा दिने गरेको हो । एउटा गुलेली किन्न वडावासीले पाँच सय रुपैया तिरे पुग्छ । अन्यको हकमा भने एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको वडाध्यक्ष यमबहादुर थापाले बताए ।गुलेली बनाउने जिम्मा वडाका चार जना युवालाई दिइएको छ । तीलबहादुर थापा, टेकबहादुर थापा, उत्तम थापा र होमबहादुर थापाले जिम्मेवारी पाएका हुन् ।
उनीहरुमध्ये तीन जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।वडाध्यक्षको योजनामा आफूहरुले सहकार्य गरेको तिलबहादुर थापाले बताए । गुलेली निर्माणका लागि ट्रस, स्प्रिङ, रवर लगायतका सामग्रीहरु प्रयोग गरिन्छ । यो बनाउदा आवश्यक पर्ने कच्चा सामग्री सबै वडाले उपलब्ध गराउँछ ।
सामान्य गुलेली भन्दा यो अलि ठेलो आकारको हुन्छ । बन्दुक आकारको यो गुलेलीबाट हानेको ढुंगा धेरै परसम्म जाने छ । बाँदरको समस्या समाधान गर्न बेसार, अदुवा र तितेपाती खेतीलाई प्रोत्साहन गर्न लागिएको वडाध्यक्ष थापाले बताए । ‘यो खेतीलाई बाँदरले नष्ट गर्दैन, त्यसैले प्रवद्र्धनका लागि यसको तेल निकाल्ने मेसिन ल्याउँदै गरेको समेत बताए । मेसिन खरिदका लागि वडाबाट आठ लाख रकम विनियोजन भइसकेको जानकारी दिए ।