२९ पुस काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन अवलोकन गर्दै छन् । त्यसका लागि उनी दुई बजे सिंहदरबार आउने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद् भवन शिलान्यास गरेका थिए ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुन्डी शेक जेभीले पाएको छ ।सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो ।
तर गत वैशाखमा फेरि ६ महिना म्याद थप गर्दै आउँदो २८ असोजभित्र काम सक्नुपर्ने गरी समय दिइएको थियो ।सिंहदरबारभित्रको संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद चलाउँदै आएको छ ।