२० माघ काठमाडौँ । पाँचौँ टाइगर कपको महिलातर्फको उपाधि टाइगर ग्रुप आयोजकले जितेको छ । विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजकले हात पारेको हो ।
आज पोखरा रंगशालामा भएको फाइनल खेल एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।पहिलो सेट १७–२५,दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ ले एपिएफले जिते पनि चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेटमा पुगेको थियो ।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । टाइगरले पहिलो पटक फाइनल खेल्दा नै उपाधि जितेको हो ।उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।