१ फागुन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा न ३ स्वाँरा र ४ सौरपानीमा वर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा ओखर खेती सुरु गरिएको छ । गाउँपालिकाको वडा न ३ स्वाँरा र वडा न ४ को सौरपानीमा पालिकाको अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । पालिकाले किसानहरुको आर्थिक आयआर्जन वृद्धि गर्नका लागिकरिब २ हजार २ सय मिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा ओखर खेती सुरु गर्ने थालिएको छ ।

दुई वडाका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देशीय कृषक समुह गठन गरि व्यवसायी ओखर खेती सुरु गरएको हो । किसानलाई प्राविधिकको सुझाव अनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई किसानलाई वितरण गरेको हो ।

ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई चारवटा ‘प्लट’ बनाएर बेर्ना लगाउन थालिएको अध्यक्ष भट्टले जानकारी दिनु भयो । ओखरका विरुवा खरिदका लागि रु १० लाख र ढुवानीका लागि मात्रै एकलाख रुपैया भन्दाबढी खर्च भएको उनले बताए ।किसानहरुलाई वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरुले रोप्न सुरु गरिसकेका छन् ।अहिले लगाइएको विरुवाले करिब चार बर्षपछि उत्पादन दिन सुरु गर्ने उनले बताए। कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो । अहिले ओखर खेती गर्ने जग्गामा भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखर खेतीका लागि सुहाउदो भएकाले यस वर्षदेखि ओखरी खेतीको थालनी गरिएको हो ।
