३ फागुन काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ५ ताकुमाझ लाकुरिबोट ढकल गाउँ घर भएका नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् । युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकालमाथि गएराति बेरुतनजिकै आक्रमण भएको थियो ।
सेनाका अनुसार उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको थियो । घाइते ढकाललाई तत्कालै यूएन लेवल थ्री अस्पताल पुर्याइएको थियो ।उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ ।
घटनाका विषयमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । उक्त घटनाको लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेका छन् ।