२६ फागुन काठमाडौँ । गोरखा बारपाक र लाप्राक जोड्ने सडकमा दायाँबायाँ लालिगुराँस फुलेकाे छ । त्यसै फुले दिएकाे सुन्दरतासंगै सडक स्तरोन्नतिको काम समेत भई रहेको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा र विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ५० प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ ।दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ ।

गैरआवासीय एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् । समयमै सडक स्तरोन्नति नहुँदा अहिले गोरखा बजारबाट बारपाक गाउँ हुदै लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
