१३ चैत काठमाडौँ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भएको आगलागी साढे ६ घन्टापछि नियन्त्रणमा आएको छ। बिहान साढे नौ बजे तिरबाट ठूलो रूप लिएको आगो अहिले तीन बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको छ,’ इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले भने, ‘आगो नियन्त्रणमा आएपछि सबैतिरका दमकलहरू फिर्ता भएका छन्।
’इटहरी चोकबाट पूर्वतिर रहेको सेन्ट्रल प्लाजाको नौ तले भवनमा बिहान साढे आठ बजेतिरै धुँवाको मुस्लो भेटिएको थियो। त्यसको केहीबेरमा आगोले ठूलो रूप लिएको थियो। आगलागीबाट प्लाजाको सबभन्दा माथिल्लो तीन वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ।
आगलागी भइरहँदा सुरक्षाकर्मीहरूले भवनभित्र फसेका ११ जनाको सकुशल उद्धार गरेका थिए। उद्धारकै लागि भनेर हेलिकप्टर पनि बोलाइएको थियो। तर, सेनाको हेलिकप्टर काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरेका थिए।कोशी प्रदेशका विभिन्न स्थानीय तहका १२ वटा दमकल, क्रेन, आयल निगमबाट ल्याइएको फोम, फायरबल लगायतका सामग्री प्रयोग भएको थियो।