१४ चैत काठमाडौँ । गणतन्त्रवादी र राजतन्त्र पक्षधरबीच हुने प्रदर्शनमा घम्साघम्सी हुने सम्भावना देखिएको छ । सरकारले सुरक्षा निकायलाई कडा तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गणतन्त्रको पक्ष र राजतन्त्रबादी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितको टोलीले राजतन्त्र पुनःस्थापनाका लागि भोलि शुक्रवार काठमाडौँमा प्रदर्शन गर्ने भएको हो ।
भोली हुने प्रदर्शनमा दुवै पक्षबाट ठूलो रुपमा तयारी हुदै छ । सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।सरकारले गणतन्त्र पक्षधर माओवादीसहितको विपक्षी मोर्चा र मेडिकल व्यवसायी प्रसाईंले अहिलेको अवस्थालाई उत्तेजित बनाउन आफ्ना कार्यकर्ता तथा समर्थकलाई शुक्रवारको प्रदर्शनमा हतियारसहित उपस्थित हुन निर्देशन दिएकाले सुरक्षा अवस्था तयारी अवस्थामा राख्न निर्देशन दिएको बताइएको छ ।
माओवादी, एमाले हुँदै राजावादीको कित्तामा उभिएका प्रसाईंले जे पनि गर्न सक्ने भएकाले उनीहरूको हर्कतका बारेमा उच्च सुरक्षा सतर्कता अपनाउन सरकारले निर्देशन दिएको छ । राजावादीहरूलाई तीनकुने र गणतन्त्र पक्षधरहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
तर, विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले भने अहिलेको राज्यले दिएको आदेश नमान्ने र आफूहरू सीधै राजदरबारतर्फ अघि बढ्ने भएकाले जस्तोसुकै परिस्थिति आए पनि सुरक्षा निकायसँग भिड्न आफ्ना कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएका छन् ।