७ वैशाख काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शन गरेका छन्। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।
निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी राखेकै बेला सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिए। झुक्याएर पम्प्लेट प्रदर्शन गरेपछि प्रहरीले खोसेका थिए। उनीहरूका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ।मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको थियो। तर, मन्त्रालयको आग्रहको अवज्ञा गर्दै निषेधित क्षेत्रमै प्रदर्शनमा उत्रिएपछि राप्रपाका सांसदहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।