११ वैशाख काठमाडौँ । जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका ४ बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यस अघि पेट्रोल पम्प नहुँदा फुटपाथमा ड्रम तथा जर्कीनबाट आपुर्ति हुँदै आएको थियो ।आज बिहान आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले उद्घाटन गरेपछि पम्प सञ्चालनमा आएको हो ।
समन्वय प्रमुख खत्रीले हालसम्म यस जिल्लामा पेट्रोल पम्प नहुँदा ग्राहकहरु निकै मर्कामा परिरहेकोमा अब पम्प सञ्चालनमा आएसँगै सहज हुने बताए । शुद्धता तथा आर्थिक भार समेत कम पर्न जाने हुँदा उपभोक्ताहरलई लाभ हुने प्रमुख खत्रीले भनाइ राखेका थिए। उद्घाटन कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आएकोमा सप्लायर्सलाई धन्यवाद व्यक्त गरे ।
पेट्रोल पम्प सञ्चालनसँगै जिल्लामा सरकारी तथा गैरसरकारी कार्यालय तथा वित्तीय संस्थाका सवारी साधनहरुलाई निकै सहजता हने प्रजिअ मग्रातीको भनाइ छ । यसैगरी, यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै आफुहरुलाई सवारी साधनमा तेल भर्न निकै सहजहुने विश्वास व्यक्त गरे ।फुटफाटमा ड्रमको तेल प्रयोग गर्दा शुद्धता तथा महँगो मारमा परेका व्यवसायीहरुलाई निकै राहत पुग्ने बुढाको भनाइ छ ।