१७ वैशाख काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आन्दोलनको २९ औँ दिनमा सहमति जुटेको छ । आज भएको सहमति अनुसार अब आउने असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको एक शिक्षकले बताए । शिक्षकहरुले गत २० चैतदेखि निरन्तर काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए ।
उक्त मागलाई सम्बोधन गर्दै सरकार र सत्तासीन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो ।
सहमति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरूको आन्दोलनको एम मात्र मुख्य माग विद्यालय शिक्षा ऐन जारी गराउनु रहेको भन्दै त्यसका निम्ति २९ दिनदेखि आन्दोलित भए पनि तत्कालै ऐन जारी हुने अवस्था नरहेको तर राजनीतिक दलहरूको तर्फबाट १५ असारभित्र ऐन जारी हुने लिखित प्रतिबद्धता आएकाले सम्झौता गरिएको बताए ।
शिक्षा समितिका सभापति र काँग्रेस तथा एमालेका प्रमुख सचेतकले ऐन निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।