३२ असार काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ ।जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ ।
समर्थन फिर्ता लिँदै जसपा नेपालले प्रस्तुत गरेका ११ कारण यस्ता छन् :
१.जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२.भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
३.मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ।ब।२०८२र८३ को बजेट ल्याउने कार्य गर्नु ।
४.संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
५.कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
६.स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
७.समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
८.मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
९.संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।
१०.कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
११.वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।
आदि कारणले के.पी.शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त बिपक्षमा बस्ने निर्णय गरियो ।