२८ साउन काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ। आज काठमाडौंमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको हो। संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा निकट युवाहरुले विरोध जनाएका थिए।
दुई पक्षबीच विवाद बढ्दै गएपछि स्थितिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर अनुशासनहीन कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै अधिवेशन स्थगितको घोषणा गरेका थिए।
उनले कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने बन्द सत्रमा छलफल हुने आश्वासन दिँदा समेत असन्तुष्ट पक्षले नेतृत्वको विरोधमा नारा लगाएका थिए। त्यस्तै अधिवेशनस्थलबाट बाहिरिँदै गर्दा लिङ्देनले बाहिरका मान्छेको घुसपैठ भएको आशंका गरे।असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो।