३१ साउन काठमाडौँ । सुर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८२र०८३ को वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना र कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रमको नगर प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो। नगर प्रमुख थापाले स्थानीय शासनलाई प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिहरूबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले समन्वय, सहकार्य र सहअस्तित्वकै आधारमा मात्र नगरवासीको आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्नुहुँदै सुशासन स्थापनाका लागि एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।स्थानीय सरकारको सेवा प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन योजनाबद्ध तरिकाले काम गर्नु आवश्यक छ’, प्रमुख थापाले भन्नुभयो, ‘यस प्रकारका कार्यशालाले सबै तहका कर्मचारी र सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँछ ।प्रमुख थापाले जनप्रतिनिधि तथा कर्मचारीहरूले कानूनी दायराभित्र रही जनउत्तरदायी ढंगले काम गर्नुपर्नेमा समेत जोड दिनुभयो।समिक्षा कार्यक्रमले नगरपालिकाबाट प्रदान हुने सेवाहरू कत्तिको प्रभावकारी र परिणाममुखी छन् भन्ने मूल्याङ्कन गर्न सहयोग पुग्ने उपप्रमुख सरिता तिमिल्सना भट्टराईले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले समिक्षा कार्यक्रमलाई केवल खर्च र बजेटको लेखाजोखा नभई उपलब्धिको मूल्याङ्कनको आधारमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा नगरपालिकाका विषयगत समितिहरू, विभिन्न शाखा, नगर अस्पताल तथा १० वटै वडाहरूका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वडा नंं १ को तर्फबाट वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ को तर्फबाट प्रदीप कार्की, वडा नंं ३ को तर्फबाट दिपेन्द्र केसी, वडा नंं ४ को तर्फबाट लछुराम न्यापाने, वडा नंं ५ को तर्फबाट वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ६ को तर्फबाट ईश्वर खडका, वडा नंं ७ को तर्फबाट रविन्द्र सापकोटा, वडा नंं ८ को तर्फबाट पुष्पराज बस्नेत, वडा नंं ९ को तर्फबाट भगवान खत्री र वडा नंं १० को तर्फबाट शिवराम रावत, शाखा प्रमुखहरु तथा वडा सचिवहरुले वडागत रुपमा भएका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म देखिएका चुनौतीहरू र आगामी वर्षमा समावेश गर्नुपर्ने सुधारका उपायहरूबारे आफ्नो धारणा राख्नु भएको थियो ।


