१३ कार्तिक काठमाडौँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–५ स्थित आर्वाङ डाँडाबाट पहिलो पटक प्याराग्लाइडिङ परीक्षण उडान गरिएको छ ।पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक विकासलाई लक्ष्य गरी सुरु गरिएको यस क्रियाकलापले अब यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
प्याराग्लाइडिङ उडानको परीक्षणमा देशका अनुभवी पाइलटहरूको टोलीले सहभागी भएर सफलतापूर्वक आकाशमा उडान गरिएको छ। आर्वाङ डाँडाबाट उडान गरी आरुघाट बजार आसपासको क्षेत्रलाई अवलोकन गर्ने क्रममा पाइलटहरूले यहाँको हावापानी र भौगोलिक संरचना प्याराग्लाइडिङका लागि अत्यन्त उपयुक्त रहेको बताएका छन् ।गाउँपालिकाका अध्यक्षका अनुसार निकट भविष्यमा नियमित उडान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
प्याराग्लाइडिङ सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीय युवालाई रोजगारी सिर्जना हुने र आरुघाट–बारपाक–मनास्लु पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण मिल्ने अपेक्षा गरिएको छ ।
आर्वाङ डाँडाबाट मनास्लु हिमाल, आरुघाट बजार, बुढीगण्डकी नदी र वरपरका गाउँको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले यहाँको प्याराग्लाइडिङ क्षेत्रीय पर्यटनको नयाँ केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ ।


