२३ कार्तिक काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शनिबार काभ्रेपलाञ्चोकको बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा आयोजित विशेष समारोहका बीच सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन्।वर्षौंदेखि निष्क्रिय र धुलाम्य अवस्थामा रहेका मेसिनहरूको धुलो टकटक्याई पुनःसञ्चालन गर्दै कानुनी तथा प्राविधिक जटिलताहरू पार गर्दै सरकारी स्वामित्वको प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरिएको हो।
यससँगै अबसम्म विदेशी कम्पनीहरूलाई ठेक्का दिएर करोडौँ रुपैयाँ बाहिरिने र सुरक्षा जोखिम बढ्ने समस्या अन्त्य हुने भएको छ।प्रारम्भिक चरणमा दैनिक ५०० थान लाइसेन्स छपाइ गरिनेछ भने तीन महिनाभित्र उक्त क्षमता बढाएर एक लाख र त्यसपछिका तीन महिनामा थप वृद्धि गर्दै बाँकी २८ लाख मध्ये १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ।

सरकारले तयार पारेको नयाँ स्मार्ट ड्राइभिङ लाइसेन्समा २६ वटा सुरक्षा संकेतहरू राखिएको छ, जसले गर्दा नक्कली बनाउने सम्भावना समाप्त हुने बताइएको छ। साथै, सम्पूर्ण प्रक्रिया पारदर्शी, छिटो र त्रुटिरहित बनाउन मन्त्री खरेलले निर्देशन दिएका छन्।उक्त पहलले जनतालाई सुशासन र आत्मनिर्भरताको प्रत्याभूति दिने सरकारको प्रतिबद्धता झल्काएको मन्त्री खरेलले बताएका छन्।
