३० कार्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न–६, ताकुकोटस्थित माईभगवती मन्दिर परिसरमा ‘ताकुकोट न्वागी मेला–२०८२’ आज राती देखि सुरु हुने भएको छ। कृषि, पर्यटन र संस्कृतिलाई समृद्ध बनाउने लक्ष्यसहित दुई दिनसम्म सञ्चालन हुने यस मेलामा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने गोरखा ताकुकोट सेवा समाज काठमाडौँका कार्यसमिति सचिव होम नारायण श्रेष्ठले जानकारी दिनु भयो ।
आज राती हुने मेलामा राष्ट्रिय चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय र लोकप्रिय निर्देशक प्रकाश भट्ट, अहिलेको चर्चित लोकप्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी,लोकदोहोरी गायक सागर गुरुङ, सन्जय गुरुङ, पवन गुरुङ, मोडेल डान्सर सुमित्र गुरुङ,लोकदोहोरी गायिका पवित्रा आले मगरसहितका कलाकारहरूले आफ्ना आकर्षक प्रस्तुति दिने भएका छन्।
साथै, स्थानीय सांस्कृतिक झल्को दिने मारुनी नाच, लोकसाँगीतिक कार्यक्रम र विविध प्रस्तुति मेलाको मुख्य आकर्षण हुनेछन्।मन्दिरमा पूजाअर्चना, न्वागीको प्रसाद ग्रहण तथा धार्मिक अनुष्ठानमा सहभागी हुने भक्तजनका लागि मेलाले विशेष वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। हजारौँ दर्शक तथा भक्तजनको उपस्थिति रहने अनुमान गर्दै आयोजकहरूले यस मेलाले ताकुकोट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधिमा समेत महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यस मेलाको आयोजक गोरखा ताकुकोट सेवा समाज काठमाडौ र माईभगवाती मन्दिरका पूजा समितिको संयुक्त आयोजनमा हुने संस्थाका महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । यो पर्वलाई ताकुकोट बासीहरुले पराम्परा अनुसार र्नै हर्षोल्लाष पुर्ण ढंगले धुमधाम पुर्वक मनाउने तयारी भएकोले ताकुकोट तथा आसपासका बासिन्दा, काठमाडौंमा रहेका ताकुकोटे समुदाय, साथै सबै श्रद्धालुहरूलाई सहभागिताका लागि हार्दिक आयोजकले निमन्त्रण समेत गरेका छन्।