२ मंसिर काठमाडौं । नेकपा (क्रान्तिकारी नेतृत्व–विप्लव) ले निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विप्लव नेतृत्वको दललाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
दल दर्तासँगै आगामी निर्वाचनका लागि चुनाव चिन्ह ‘गुलाब’ स्वीकृत गरिएको आयोगले जनाएको छ। यससँगै अब पार्टीले आधिकारिक रूपमा निर्वाचन गतिविधि, सदस्यता विस्तार, प्रचार–प्रसार तथा मतदाता पहुँच विस्तारका कार्यक्रम अगाडि बढाउन पाउने छ।
दर्ता प्रमाणपत्र प्राप्त भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले यसलाई “संगठन मजबुत बनाउने ऐतिहासिक अवसर”का रूपमा व्याख्या गरेका छन्। दलका अध्यक्ष नेत्र विक्रम चन्द (विप्लव) ले प्रमाणपत्र प्राप्ति आफूहरूको “राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश भएको” टिप्पणी गरेका छन्।
निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि तोकिएका आवश्यक कागजात, विधान, नेतृत्व सूची र अन्य विवरण पूरा गरी आएपछि प्रमाणपत्र प्रदान गरिएको जनाएको छ।



