५ मंसिर गोरखा — लामो समयदेखि रोकिएको मसेल–जराङ जोड्ने जराङ खोला मोटरेबल पुल निर्माण कार्य पुनः सुरु गरिएको छ। गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नम्बर–८ का वडाध्यक्ष शरण गुरुङ र भिमसेनथापा गाउँपालिका–१ का वडाध्यक्ष विकास श्रेष्ठको पहल तथा दबाबपछि पुनः निर्माण अघि बढाइएको हो।

भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेशमार्फत कुल लागत रु. २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँमा सेट स्वायर जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । उक्त मोटरेबल पुल आगामी २०८३ साल वैशाख महिनासम्म सम्पन्न गर्ने गरी नयाँ समय सीमा तोकिएको छ। यसअघि सो पुल २०७९ र ८० को योजना अन्तर्गत २०८० साल चैत १२ गते निर्माण सुरु भई २०८२ फागुन २६ गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो।

तर, ठेकेदार कम्पनी र जिम्मेवार कर्मचारी पक्षको लापरवाहीका कारण लामो समयसम्म निर्माण कार्य रोकिएको थियो, जसले स्थानीय बासिन्दा वर्षौँदेखि सास्ती भोग्दै आएका थिए। स्थानीय जनप्रतिनिधिहरूका अनुसार समयमै अनुगमन र ध्यानाकर्षण भएको भए योजना निर्धारित समयमै सम्पन्न भई स्थानीयहरूलाई सुविधाजनक यातायात पहुँच उपलब्ध हुने थियो। अब पुनः सुरु गरिएको निर्माण कार्य तोकिएको समयमै सक्ने अपेक्षा गरिएको छ।
