७ मंसिर काठमाडौँ । गोरखामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेसँगै गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो ।
मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङख्या एक हजार ५५० रहेको छ ।
जसमध्य ९०८ पुरुष र ५९४ महिला रहेका छन् । यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या कुल दुई लाख २९ हजार ७६६ पुगेको सुवेदीले जानकारी दिए ।पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकाहरुमध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।