११ मंसिर काठमाडौँ । हालै अवकाश प्राप्त गरेका नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालले भदौ २३ र २४ गते देशभर देखिएको असन्तुष्टि र त्यसपछिका अवस्थाबारे महत्वपूर्ण खुलासा गरेका छन्। एक अन्तरवार्तामा उनले ती दुई दिनलाई देशको शासन व्यवस्था, सुरक्षा संयन्त्र र राजनीतिक स्थिरताका लागि “अत्यन्त संवेदनशील र निर्णायक क्षण” भएको बताए।अर्यालका अनुसार त्यतिबेला स्थिति कति जटिल थियो भन्नेको “आकलन नै गर्न नसकिने” अवस्था थियो।
उनले भने, “भदौ २३ र २४ गते जे भयो, त्यो स्तरको घटना हुन्छ भनेर कसैले कल्पना गरेको थिएन। पशुपतिको गजुर जोगाउनसमेत कठिन हुने परिस्थिति थियो। चानचुने कुरा थिएन त्यो।”उनले सुरक्षा निकायबीच भएको समन्वय, सरकारी संयन्त्रको तत्परता र तत्कालीन नेतृत्वले समयमै “उचित निकास” निकालेकै कारण देश ठूलो दुर्घटना वा गम्भीर अव्यवस्थामा जानबाट जोगिएको बताए।“यदि हामिले उचित निकास निकाल्न सकेनौँ भने देश अर्कै बाटोमा जान्थ्यो,” उनले स्पष्ट पारे।
अर्यालले त्यतिबेलाको जनअसन्तुष्टिको कारणलाई स्वीकार गर्दै राजनीतिक नेतृत्वले जनभावनालाई सम्बोधन गर्दै अघि बढ्न आवश्यक रहेको बताए।“जनतामा असन्तुष्टि थियो भन्ने कुरा नस्वीकारे हामी अघि बढ्न सक्दैनौँ,” उनको भनाइ छ।सरकार गठनका विषयमा उनले सबै राजनीतिक दलहरूसँग निरन्तर समन्वय भएको जानकारी पनि दिए। उनले आगामी चरणमा देशलाई स्थिर दिशातर्फ अघि बढाउन चुनाव गराएर राजनीतिक प्रक्रियालाई नियमित ट्रयाकमा लैजान आवश्यक रहेको उल्लेख गरे।