८ पुस काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–अन्तर्गत वडा न–६ ताकुकोटमा दुना–टपरा बनाउने दुईदिने तालिम हिजो देखि सुरु भएको छ । गाउँपालिका–अन्तर्गत सामुदायिक सिकाइ केन्द्रको आयोजनामा मेसिन प्रयोग गरी सालको पात गाँसेर दुना–टपरा बनाउने दुईदिने तालिम ताकुकोट–पाल्खुमा सुरु भई रहेको छ ।
स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वरोजगार र आयआर्जनमा जोड दिने उद्देश्यले आयोजना गरिएको उक्त तालिमको उद्घाटन कार्यक्रम सरोकारवाला निकायका प्रतिनिधि, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उपस्थितिमा सुरु भएको हो ।
कार्यक्रममा वक्ताहरूले वातावरणमैत्री सामग्रीको प्रयोग प्रवर्द्धन गर्दै प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्न यस्ता तालिमहरू प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। साथै, तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरिएको थियो।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा सहभागीहरूलाई मेसिनमार्फत सालको पात प्रशोधन, दुना–टपरा निर्माण प्रक्रिया तथा बजारिकरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।


